काठमाडौं।
नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ ।
गत भदौ १३ गतेलाई बोलाइएको केन्द्रीय कमिटी बैठक आवश्यक तयारी नपुगेको बहानामा अन्तिम समयमा स्थगित गरिएको थियो । १३ गतेको बैठक स्थगित गरेपछि भदौ १९ वा २० गते बिहान केन्द्रीय कमिटी बैठक बस्ने नेताहरूले बताएका थिए ।
भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमाले विधान महाधिवेशन हुँदैछ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव छपाइको काम भइरहेको छ ।
यस्तै निर्वाचन,अनुशासन,लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइकै क्रममा छ । अधिकारीका अनुसार महाधिवेशन प्रतिनिधि परिचय पत्र छपाइको काम सकिएको छ ।
आवश्यक तयारी पुरा हुने क्रममा रहेपनि भदौ १३ गतेलाई बोलाएर स्थगित गरिएको सो पार्टीको केन्द्रीय कमिटी बैठक अव नबस्ने निश्चित जस्तै भएको छ । केन्द्रीय कमिटी बैठकको साटो केन्द्रीय सचिवालय बैठक राख्ने एमालेको तयारी छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणबाट १८ गते रातिमात्र फर्कने भएकाले केन्द्रीय कमिटी बैठक राख्न असम्भव भएको नेताहरूको भनाइ छ ।
‘भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरू महाधिवेशनमा पठाउने लगायत अन्य प्राविधिक विषयमा निर्णय हुनेछ’, महासचिव शङ्कर पोखरेलले निकटस्थ नेताहरूलाई भनेका छन् ।
यसअघि विद्या भण्डारी पक्षले फरक मत लैजाने तयारी गरेपछि १३ गतेको केन्द्रीय कमिटी बैठक स्थगित गरेको असन्तुष्ट समूहले आरोप लगाउँदै आएको छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र सङ्ख्या निश्चित गरिएको छ ।















