मेराे जीवनमा कसैसंग एक रूपैयाँ भ्रष्टाचार गरेकाे छैन : माधव नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो जीवनमा कसैसँग एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् ।

समाजवादी प्रेस संगठनको तेस्राे बैठकलाई शनिबार काठमाडौंमा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले पतञ्जली जग्गा प्रकरणमा आफूलाई बिना कारण मुद्दा लगाइएको जिकिर समेत गरे।

उनले भने, ‘ममाथि मुद्दा चलाइएको छ। हदबन्दीभन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा बिक्री गर्न दिने काम गरेर बेठिक भयो भनिएको छ । सरकारी र सार्वजनिक सम्पत्ति हिनामिना र हानी नोक्सानी गर्ने काम भयो । यसरी हिनामिना र हानी नोक्सानी गरेर भ्रष्टाचारको काम भयो । हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न दिन पाइन्छ कि पाइँदैन, कानुनले के भन्छ ? हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था रहेको छ।’

हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नुको कानुनी आधार नरहेको भन्दै उक्त जग्गाबारे मन्त्रिपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेकाे स्मरण गरे।

उनले आफू प्रधानमन्त्री हुँदा विद्या भण्डारी, हालका एमाले महासचिव शङ्कर पोखरेल, सुजाता कोइराला, भीम रावल, मीनेन्द्र रिजालसम्म मन्त्री रहेको भन्दै क्याबिनेटले सर्वसम्मतिले निर्णय गरेको जिकिर गरे ।

  • १४ भाद्र २०८२, शनिबार १६:५७ प्रकाशित