पोखरा ।
गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताएका छन् । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उनको भनाई छ ।
कानुनी युवा मञ्च (फ्लाई)ले आयोजना गरेको ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प २०२५’ मा बोल्दै उनले जलवायु परिवर्तनका असरहरुबारे विभिन्न कार्यक्रम गरेर विश्व समुदायलाई सचेत गराएपनि सोचेअनुसारको प्रगति गर्न नसकिरहेको उल्लेख गरे।
‘जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर खासगरी जलवायु परिवर्तनको प्रभाव बढी पर्ने हाम्रोजस्तै विकासोन्मुख मुलुकमा हो ।’ उनले भने – ‘हाम्रा हिमालहरुमाथि सोझो चोट परेको छ । हिमताल जोखिममा छन् । वर्षा अनियमित मात्रामा भइदिनाले पहाडमा बाढी पहिरोबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । तराई डुब्दा खाद्य सङ्कट उत्पन्न भइरहेको छ ।’
अब ढिला नगरी जलवायु परिवर्तनबाट प्रमुख मार खेप्नुपरेका विकासोन्मुख मुलुकहरुले न्यूनीकरणका लागि पहल कदमीहरु चाल्नु जरुरी भइसकेको उनको भनाई छ । वातावरणीय प्रभाव मूल्यांकनको सीमामा रहेर दीगो विकासको अवधारणा अवलम्वन गर्न आवश्यक रहेको उनको भनाई छ ।
‘हामी विकास र समृद्धिको युगमा छौँ । औद्योगिक विकासका कारण हरितगृह ग्यॉस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भएर वातावरणीय अवस्थामा असन्तुलन परिवर्तन आएको छ ।’ उनले थपे – ‘सन् २०३० सम्म नेपालको तापक्रम १.७ डिग्री सेल्सियले बढ्ने अनुमान गरिएको छ । हामीले समयमै सजगता नअपनाउने हो भने ठूलो वातावरणीय समस्या निम्तिन सक्छ ।’
यो क्याम्प नेपालका लागि मात्र नभई दक्षिण एशियामा नै जलवायु परिवर्तनका कारण र असर र समाधानका लागि फलदायी बन्ने विश्वास उनले व्यक्त गरे । जलवायु न्यायको अवधारणा अन्वेषण, क्षेत्रीय असमानता र संवेदनशीलता, सीमा–पार जलवायु प्रभाव र साझा चुनौती, न्याय प्रवद्र्धनमा युवाको भूमिका, न्यायपूर्ण जलवायु रुपान्तरण र वित्तीय पारदर्शिता लगायतका विषय निकै महत्वपूर्ण रहेको उनको भनाई छ ।
कार्यक्रममा दक्षिण एशियाका ७ राष्ट्रका ४५ जना युवाहरुलाई जलवायु न्यायको पक्षमा सशक्त बनाउन विशेष छलफल र गतिविधिहरू सञ्चालन हुने भएकाले युवाहरुलाई उप्रेरित गर्न आफू उपस्थित भएको प्रदेश प्रमुख भट्टको भनाई छ । यस्ता क्याम्पहरु छलफल गर्ने मञ्च मात्र होइन, नीति निर्माण गर्ने र यसलाई आकार दिने अवसर पनि रहेको उनले बताए ।
यो क्याम्पमा दक्षिण एसियाका युवाहरुबीच जलवायु न्यायका लागि सीमा–पार युवा एकता, आदिवासी तथा उपेक्षित आवाजलाई जलवायु शासनमा समावेश गर्ने गरी राष्ट्रिय नीति संवादमा एकीकृत गर्ने, जलवायु सम्बन्धी समसामयिक चुनौती र दक्षिण एसियाली विकल्पहरुमा युवाको ज्ञान बलियो लिने लक्ष्य लिइएको आयोजक संस्थाका चेतन जेठाराले जानकारी दिए ।













