काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ प्रतिनिधिसभामा पेस गर्ने मिति तय भएको छ ।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भदौ महिनाका लागि तय गरेको क्यालेन्डरमा भदौ १९ गतेको बैठकमा विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका राखिएको छ ।
राष्ट्रपति पौडेलले साउन ८ गते प्रतिनिधिसभामा र राष्ट्रियसभाले पारित गरेर सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक संसदमै फिर्ता पठाएका थिए । विधेयकका प्रावधानमा पुनर्विचारका लागि भन्दै पौडेलले विधेयक प्रतिनिधि सभामै फिर्ता पठाएको बताएका थिए ।
विधेयकमा गर्न खोजिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधि सभामै फिर्ता गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको थियो ।
दुवै सदनबाट पारित भएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गएको असार ३१ गते राष्ट्रपति पौडेलसमक्ष पेस गरिएको थियो।















