नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौ।

नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् । उनी २०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थिए ।

प्रहरी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ । ऐन पास भएको भए थापाको कार्यकाल कम्तीमा थप ६ महिना थप हुने थियो । नयाँ प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि क्रमशः हटाउने प्रस्ताव छ ।

तर, छलफल चल्दाचल्दै निजामती विधेयकमा देखिएको कुलिङ पिरियड ‘विवाद’का कारण राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिए । नयाँ सभापति चयन नहुँदा प्रहरी विधेयकमाथिको दफावार छलफल रोकिएको छ ।आईजीपी थापा २०५२ भदौ १९ मा भर्ना प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । करिब ६ महिना आईजीपी भएर उनी अवकाशमा जान लागेका हुन् ।

खापुङ महानिरीक्षकका लागि एकल दाबेदार रहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए ।

आईजीपी थापासँगै भर्ना भए पनि सो ब्याचका इन्स्पेक्टरहरूलाई तीन चरणमा नियुक्ति दिइएको थियो । पहिलो लटमा २०५१ चैत ५ मा नियुक्ति लिएका ५३ जना मध्येका वसन्त कुँवर आईजीपी भएर अवकाशमा गइसकेका छन् । कुँवर २०८१ चैत ५ मा अवकाशमा गएका थिए ।

दोस्रो लटमा नियुक्ति लिएका दीपक थापा कुँवर पछि आईजीपी भएका हुन् । थापासँगै नियुक्ति लिएका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ मा अवकाशमा जाँदै छन् ।

  • १३ भाद्र २०८२, शुक्रबार १४:४१ प्रकाशित