सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिक र सरोकारवाला निकायबीच अन्तरक्रिया

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा कास्कीले सवारी दुर्घटना न्युनीकरणका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशिक कार्यालय कास्कीको सहकार्यमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका निरीक्षक शोभा पाण्डेले कार्यक्रममा ट्राफिक प्रहरीले कास्की जिल्लाको सडकको अवस्था र दुर्घटना न्युनिकरणका लागि ट्राफिकले खेलेको भुमिकाको बारेमा बताएकी थिइन् ।

उनले कास्कीका कुनै पनि एरियामा दुर्घटना भइहालेमा उद्धारका लागि ‘क्विक रेन्पोन्स’ टिम परिचालन भइरहेको सो अन्तरक्रियामा जानकारी दिइन् ।
निरीक्षक पाण्डेले दुर्घटना न्युनिकरणका लागि आफुहरुले सचेतनामुलक प्रचारप्रसार गरिरहेको बताइन् ।

यस्तै कास्कीमा ६ ठाउँमा ट्राफिक लाइट जडान गरिएकोमा २ ठाउँमा सञ्चालनमा आएको बताउँदै ट्राफिक लाइट सञ्चालन भएको ठाउँमा सडक दुर्घटना केही न्युन भएको भनाई उनको थियो ।

दुर्घटना न्युनिकरणका लागी पोखरा महानगरपालिकाले पनि चासो राख्नु पर्ने अन्तरक्रियामा सहभागीहरुको जोड थियो ।

महानगरपालिकाले दुर्घटना न्युनिकरणका लागी कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने, उपयुक्त पार्किङ र बसपार्क व्यवस्थापन र बसपार्कमै टिकट काउन्टरको व्यवस्था गर्नुपर्ने, सीसीटिभी क्यामेरा पर्याप्त मात्रामा जडान गर्नुपर्ने पृथ्वी बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर के.सीले भनाई राखेका थिए ।

यस्तै यातायात व्यवसायीले सवारी चालकहरुलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा प्रशिक्षण प्रदान गर्नुपर्ने, सवारी साधनको यान्त्रीक परीक्षण,मर्मत सम्भार गर्नुपर्ने, लामो दुरीको यात्रामा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था गर्नुपर्ने ट्राफिक प्रहरीको सुझाव थियो । यसो गर्दा सवारी दुर्घटनालाई न्युनिकरण गर्न सकिने प्रहरीको भनाइ छ ।

दुर्घटना न्युनिकरणका लागी हाइवे व्यवस्थापनलाई प्राथमिकतामा राखेको सडक डिभिजन पोखराका इन्जिनियर पुजन श्रेष्ठले बताए ।बजारक्षेत्र भित्र हुने सवारी दुर्घटनालाई कम गर्नका लागि महानगरले ध्यान दिनुपर्ने उनको भनाई छ ।

नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा कास्कीका प्रहरी उपरीक्षक दान बहादुर थापाले दुर्घटना न्युनिकरणका लागी विगतका घटनाहरुको विश्लेषण गरि आगामी दिनमा हुनसक्ने घटनाको प्रक्षेपण गर्दै सोही अनुसारको रणनीति बनाई रोकथाम गर्ने गरेको बताए ।
थापाको अनुसार विगत तीन वर्षको तथ्यांकलाई हेर्दा राजमार्गमा दुर्घटना बढी हुने गरेको छ ।

दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको थापाले बताए । तथ्यांक अनुसार ५० प्रतिशत दुर्घटना तीव्र गतिकै कारण भएको देखिएको उनको भनाई छ ।सार्वजनिक सवारी दुर्घटनाबाट बढि मानिसले ज्यान गुमाउने भएकाले सवारी चालकहरुलाई लक्षित गरेर ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको प्रहरी उपरिक्षक थापाले बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा कास्कीका प्रहरी उपरीक्षक दान बहादुर थापा ,नेपाल विमा प्राधिकरण गण्डकी प्रदेशका उप निर्देशक शम्भुप्रसाद मिश्र, वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रहरी नयाब उपरीक्षक नमराज भट्टराई, नेपाल पर्यटन बोर्ड, पोखरा का वरिष्ठ अधिकृत यूवराज गुरुङ्ग, पोखरा जगदम्बा ट्राभल्सका सञ्चालक केशव प्रसाद अधिकारीले आफ्ना भनाई राखेका थिए ।

यस्तै पोखरा महानगरपालिकाका इन्जिनियर शिशिर ढकाल, सामुदायीक सेवा कास्कीका अध्यक्ष भिम पराजुली,क्षेत्रीय पर्यटक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्री, मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डकी इन्जिनियर सहनशिला कायस्थ, सडक डिभिजन पोखराका इन्जिनियर पुजन श्रेष्ठ, पृथ्वी बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर के.सी र एवान ग्रेटर नेपाल यातायात प्रा.ली.का अध्यक्ष अर्जुन पौडेल लगायतले अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाई राखेका थिए ।

  • १३ भाद्र २०८२, शुक्रबार ११:५८ प्रकाशित