नेपालमा अब १८ देखि ३५ वर्षकालाई युवा भनिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम भएकाले अब सोही समूहकालाई ‘युवा’ भनिने छ ।

यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति–२०७२ मा युवाको उमेर समूह १६–४० वर्ष थियो ।परिमार्जित राष्ट्रिय युवा नीतिमा भनिएको छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ ।’

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने ‘राष्ट्रिय रुपमा बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय परिवेशलाई समेत मध्यनजर गरेर युवाको नयाँ परिभाषा गरिएको हो ।’

युवा नीति २०८२ ले युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने विषयलाई मुख्य ध्येय बनाएको छ ।

  • १२ भाद्र २०८२, बिहीबार ११:२८ प्रकाशित