काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रचण्डले माओवादी संघर्षलाई सामाजिक रुपान्तरणको मुख्य वाहकका रुपमा बुझ्न आग्रह गरे ।
उनले भने, ‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ । तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ ।’
नेपालमा माओवादी संघर्ष कम्युनिष्ट नेताहरू मार्क्स, एंगेल्स, लेनिन र माओका ग्रन्थ पढेर मात्रै नभएको सुरु नभएको उनले बताए ।नेपालकै विगतको विद्रोह र आन्दोलनहरूको गहिरो अध्ययनका आधारमा युद्ध थालिएको उनको भनाइ छ ।
‘लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षहरूसम्मको इतिहास अध्ययन गरेर नै रणनीति तयार भएको थियो । त्यसैले जनयुद्ध सिङ्गो राज्य शक्ति र अन्तर्राष्ट्रिय शक्तिको दबाबमा पनि दबिएन, जनताले निरन्तर साथ दिए,’ उनले भने ।
प्रचण्डले संसदीय अंकगणितका कारण माओवादी केन्द्रको संघर्ष कठिन भएको दाबी गरे ।
७५३ वटै पालिकामा माओवादी जनयुद्धका संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान चलाउनुपर्ने उनको तर्क छ ।कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादीमा मौलिक रुपमै रहेको दाबी उनले गरे ।













