काठमाडौं।
रिक्त राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचनको कार्यतालिका प्रकाशन हुँदैछ । संघीय संसद् सचिवालयले आइतबार साँझसम्म कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको हो ।
सभामुख देवराज घिमिरेले शुक्रबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र गृहमन्त्री रमेश लेखकसँगको भेटमा आइतबार कार्यतालिका प्रकाशन गर्ने जानकारी दिएका थिए ।
प्रतिनिधिसभा बैठक सकिएपछि सभामुख घिमिरेले समिति सभापति निर्वाचनबारे उनीहरूसँग छलफल गरेका सचिवालयले जानकारी दिएको छ ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति खतिवडाले साउन २८ गते प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएको १५ दिन भदौ ११ गते पुग्ने भएकाले आज सभामुख घिमिरेको निर्देशनमा निर्वाचनको कार्यतालिका निकाल्न लागिएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभा नियमावलीको नियम १७६ मा सभामुखले तोकेको दिन संसदीय विषयगत समिति सभापतिको निर्वाचन हुने व्यवस्था छ ।
समिति सभापछि भागबन्डामा कांग्रेसको भागमा परेको थियो । अहिले पनि कांग्रेसकै हुने देखिएको छ । शुक्रबारको बैठकमा सभामुख घिमिरेले सोध्दा अन्य दलका नेताहरूले सभापतिमा दाबी प्रस्तुत नगरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।














