पोखरेल ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी दाङले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किंदा गणतन्त्रप्रति अनास्था फैलिने खतरा बढ्ने जिकिर गरे समेत गरे ।
‘पूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परामाधिपति भइसकेको व्यक्ति हो’, महासचिव पोखरेलले भने, ‘उहाँ सक्रिय राजनीतिमा फर्किंदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ । यस्तो गल्ती पार्टीहरूले गर्न हुँदैन ।’
यस क्रममा महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको टिप्पणी पनि गरे । साथै उनले माओवादीलाई एमाले र कांग्रेसले लोकतन्त्र सिकाउनुपर्ने समेत बताए ।
‘माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती गर्यो’, पोखरेलले भने, ‘माओवादीलाई एमाले र कांग्रेसले लोकतन्त्रका बारेमा सिकाउनुपर्छ।’
महासचिव पोखरेलले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्नेसमेत बताए।













