पोखरा ।
पोखराका ट्याक्सी व्यवसायीहरुको सहकारी संस्था पोखरेली यातायात सहकारी संस्था लिमिटेडको अध्यक्षमा सूर्यबहादुर थापा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न चौथो साधारणसभा एवं तथा चौथो अधिवेशनले थापाको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन अधिकृत अधिवक्ता दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार सहकारीको उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, सचिवमा शोभाकान्त पौडेल र कोषाध्यक्ष सुरज पौडेल चयन भएका छन् ।
सदस्यहरुमा पुस्कर न्यौपाने, वीरेन्द्र प्रसाद श्रेष्ठ र डुलबहादुर राना निर्वाचित भएका छन् । त्यसैगरी लेखसमिति संयोजकमा कृष्णबहादुर थापा, सदस्यमा मधुसुधन पौडेल र दयाराम पौडेल निर्वाचित भएका हुन् ।
यसअघि साधारणसभा एवं अधिवेशनको पोखरा महानगर सहकारी दर्ता शाखाका प्रमुख अनिल कार्कीले उद्घाटन गर्दै सहकारीमा विद्यमान संकटका बीच पोखरेली यातायात सहकारी संस्थाले उत्कृष्ठ कार्य गरेको बताए । पोखरा महानगरभित्र दर्ता भएका सहकारी मध्य यातायात क्षेत्रको पहिलो सहकारीको रुपमा पोखरेली यातायात सहकारी संस्था दर्ता भएको चर्चा गरेका उनले सहकारीका हरेक सदस्य जिम्मेवार भए सहकारी संस्थाले उन्नती गर्ने धारणा राखे ।
अध्यक्ष सूर्य बहादुर थापाको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटनको अवसरमा पृथ्वी यातायात सहकारी संस्थाका अध्यक्ष तथा पोखरेली यातायात सहकारी संस्थाका सल्लाहकार योगेन्द्रबहादुर केसी, संस्थाका सल्लाहकार रामजी घिमिरे, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता दामोदर अधिकारी, लेखापरिक्षक विष्णुबहादुर बराल र सहकारी सचिव सोभाकान्त पौडेल लगायतले बोलेका थिए ।
उक्त अवसरमा सहकारीमा आवद्ध सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट अंक ल्याउने १४ जना विद्यार्थी, ६ जना असल बचतकर्ता, र दुई जना असल ऋणिलाई सम्मान गरिएको थियो । यसैगरी सेयर सदस्य मन कुमार तामाङलाई विशेष सम्मान र उत्कृष्ठ कर्मचारीबाट सहायक कार्यलय प्रमुख कृष्ण कुमारी गुरुङलाई सम्मान गरिएको थियो ।















