काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीले छोडेको सदस्यता नवीकरण नहुने बताए ।
‘अहिले पार्टीभित्र कहाँ के ? च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिरहनुभएको छ’, उनले भने,‘कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ।’
ओलीले यस विषयमा कोही पनि भ्रममा पर्न नहुने बताए । ‘पूर्वराष्ट्रपतिको सदस्यता खोसेको होइन, भ्रम नपरोस् । उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ’, ओलीले भने, ‘कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र रु’
अध्यक्ष ओलीले २ पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको बताए ।
‘पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भनेर कल्पना समेत हामीले नगरेको हो’, ओलीले भण्डारीले चुनाव हारेकाहरूलाई भेला गरेर जमात खडा गर्दै हिँडेको भन्दै उनका गतिविधिप्रति असन्तुष्टि जनाए













