१४ लाख बढी हुन्डी रकमसहित पर्साबाट दुईजना पक्राउ

केन्द्रभाग मिडिया

वीरगन्ज ।

पर्सा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको इदगाहचोकबाट १४ लाख बढी हुन्डी रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर– २ निवासी संजयकुमार साह र बारा महागढीमाई नगरपालिका निवासी शनिकुमार ठाकुरलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जाँच चलाउँदा १४ लाख १३ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए ।

उनका अनुसार प्रहरीलाई स्रोत नखुलेको रकम बोकेर दुई जना आइरहेको सूचना आएको थियो, सोही बमोजिम मोटरसाइकल रोकेर जाँच गर्दा उक्त रुपैयाँ फेला परेको हो ।

उनीहरूको साथबाट प्रहरीले बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइछिपाइ ल्याउँदै गरेको एक हजार दरका दश लाख र ५ सय दरका ४ लाख १३ हजार रुपैयाँ फेला परेको प्रहरीले बताउँछ ।

हुन्डी रकमसहित पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।पक्राउ परेका दुई जनामाथि आजै म्याद थपको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • ६ भाद्र २०८२, शुक्रबार १२:४० प्रकाशित