उपसभामुख नेपाल नफर्किएसम्म हटाउने प्रस्ताव अगाडि नबढ्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपसभामुख इन्दिरा राना नेपाल नेपाल नफर्किएसम्म उनलाई पदबाट हटाउने प्रस्ताव अगाडि नबढ्ने भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यस्तो सहमति भएको नेताहरू बताउँछन् । यो विषयमा कांग्रेसले आन्तरिक छलफल समेत गरेको छ । बुधबार बिहान कांग्रेसको कार्यसमिति बैठक बसेको थियो ।

बिहान ९ बजेदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको थियो । जहाँ उपसभामुख हटाउने प्रयास तत्कालका लागि केही पर सरेको विषयमा छलफल भएको थियो ।

उपसभामुख राना अमेरिका भ्रमणमा छिन् । उनी यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ । त्यसपछि मात्रै थप छलफल हुने र बरु यसबीचमा हस्ताक्षर संकलन जारी रहने नेताहरू बताउँछन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संकलित हस्ताक्षरको प्रयोग तत्काल नहुने बताए । खाली कागजमा हस्ताक्षर गर्ने अभ्यास विगतमा पनि रहेको अहिले पनि त्यही भएको उनले बताए ।

  • ४ भाद्र २०८२, बुधबार १६:४६ प्रकाशित