पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गरेकी हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले वडा नम्बर ४ ले मौलिक संस्कृतिको संरक्षणका लागि प्रतियोगिता आयोजना गरेको बताईन् ।
तीजको सांस्कृतिक र ऐतिहासिक महत्व रहेपनि यसलाई महिलाले आफ्नो अपेक्षा पूरा गर्न गरेको बिद्रोहको स्मरण समेत रहेको बताइन् । तीज सबै समुदायको साझा चाडको रूपमा विकास भएको उनले उल्लेख गरिन् । यो कुनै एक धर्म, जाति र भाषाको नभइ सबैको साझा चाड बनेको उनको टिप्पणी थियो । उपप्रमुख गुरुङले विगतमा महिलालाई साँघुरो घेरामा राखिएको बेला मनका बह पोख्ने माध्यम भएपनि यो अधिकारको मागसंग समेत उपोगी बनेको धारणा राखिन्।
पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले तीज सबै जातजाति र भाषाभाषीको साझा चाडको रूपमा तीजको विकास गर्न सफल भएको बताए । उनले मंसिर १३ गते यमरी महोत्सव आयोजना गरिने जानकारी दिँदै महिला दिदिबहिनीको सक्रियताले वडामा संस्कृति संरक्षणसहित विकास निर्माण, सिप विकास र अन्य विविध कार्यहरु अगाडि बढेको स्मरण गरे । समग्र वडाको विकासका साथै यहाँको कला संस्कृतिको संरक्षणमा वडा लागि परेको उनले बताए । प्रतियोगिताले मौलिक संस्कृतिको जगर्ने गर्ने र क्षमता पहिचान गर्ने उनले अपेक्षा गरे ।

प्रतियोगिता उद्घाटन समारोहमा पोखरा महानरपालिकामा कांग्रेस दलका नेता एवं वडा नम्मबर २ का वडाध्यक्ष दिवसमान प्रधानांगले महिला सशक्तिकरणका लागि पोखरा महानगरले विभिन्नढंगले काम भइरहेको बताए ।
वडा नम्बर ८ का वडाध्यक्ष रूद्रनाथ बराल प्रतियोगिताले महिला सशत्तिकरण र मौलिक संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेलेको बताए । बरिष्ठ लोकगायिका हरिदेवी कोइरालले आफ्नै घर परिवार र वडाबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताइन् । तीजमा यसको मूल्यमान्यता स्थापित गर्न प्रतियोगिता सफल रहेको उनको भनाई थियो । उक्त अवसरमा नेपाली कांग्रेस वडा नम्बर ४ वडा इकाई सचिव मनोज कोइराला, नवीन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिरोजविजय कोइराला र सदस्य प्रकाश कोइराला लगायतले बोलेका थिए ।
प्रतियोगिताको उद्घाटनको अवसरमा मौलिक संस्कृति जोगाउन महत्पपूर्ण योगदान दिएको र वडाको गौरवको रुपमा रहेको भन्दै वरिष्ठ लोक गायिका हरिदेवी कोइरालालाई सम्मान गरिएको थियो । यसगरी पूर्व प्रदेशसभा सदस्य प्रभा कोइराला, सकुन्तला कोइराला, सरिता पराजुली, जानकी कोइराला र गोमा कोइरालाका साथै ९६ वर्षीया बृद्धा उमादेवी गुठाजुलाई सम्मान गरिएको थियो ।
उत्कृष्ठ कर्मचारीको रुपमा वडा सचिव कमला गुरूङ र सविता विश्वकर्मालाई नगदसहित सम्मान गरिएको थियो । प्रतियोगितामा १२ वटा समूहको सहभागिता छ भने प्रतियोगिताको निर्णायकको रुपमा लोकदोहोरी गायक घनश्याम रिजाल, केशव घिमिरे र तुलसा जिसी छन्।

प्रतियोगितामा प्रथम हुनेले २२ हजार रुपैयाँ र प्रमाणपत्र, द्धितिय हुनेले १७ हजार रुपैयाँ र प्रमाण पत्र, तृतीय हुनेले १२ हजार रुपैयाँ र प्रमाणपत्र, सान्त्वना हुनेले सात हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ठ नृत्य/उत्कृष्ठ भेषभुषा र समय व्यवस्थापन ३/३ हजार रुपैयाँ र प्रमाणपत्रका साथै सहभागी समूहले दुई हजार ५०० रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्














