काठमाडौं ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउनका नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा. शेखर कोइराला निकट सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनीहरूले प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर नगर्ने बताएका हुन् ।
पार्टीका तर्फबाट प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई हस्ताक्षरका लागि बोलाएका थिए । त्यो जानकारी डा। कोइराला निकट सांसदहरूले डा। कोइरालालाई गराएका थिए । त्यसपछि कोइरालाले प्रयोजन खुलेपछि मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार सांसद कान्छाराम तामाङले डा। कोइरालालाई फोन गरेर हस्ताक्षर गर्ने कि नगर्ने भनेर भनेका थिए । कोइरालाले ‘प्रयोजन खुल्ने भए गर्नुस्, नखुल्ने भए नगर्नुस्’ भन्ने जवाफ दिएका थिए ।
कोइरालाले यस विषयमा आफू पक्षका सांसदहरू हृदयराज थानी, सरिता प्रसाईँ, दीपक गिरी लगायतसँग पनि कुरा गरेको स्रोतले बतायो । उनले कुरा गरेका सांसदहरू हस्ताक्षर गर्न नआएको कांग्रेस संसदीय दल स्रोतले जानकारी दियो ।
यस्तै नेकपा एकिकृत समाजवादीले उपसभामुख हटाउन साथ नदिने बताएको छ ।














