गण्डकी प्रदेश सभा भवनको शिलान्यास, ३ वर्षमा सक्ने लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सभा भवनको शिलान्यास भएको छ । मंगलबार मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले नदीपुरमा भवनको शिलान्यास गरेका हुन् ।७ रोपनी क्षेत्रफलमा बनाउन लागिएको भवन निमार्णका लागि २५ करोड ३७ लाख लागत लाग्ने बताइएको छ । भवन निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने जनाइएको छ । २०८१ माघ १८ गते सम्झौता भएको भवन निर्माण २०८४ माघ १७ गते सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

भवन तोकिएको समयअघि नै सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीले जनाएको छ । मुख्यमन्त्री पाण्डेले छिटो काम सक्न निर्देशन दिए ।चालु वर्षका लागिमात्रै ९ करोड रुपैयाँ विनियोजन भएको सरकारले जनाएको छ । ०८१ साउन २१ मा बोलपत्र आह्वान गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनी छनोट भएको हो ।

भवनका लागि श्रेष्ठ एण्ड सन्स र इष्ट–वेष्ट जेभी सँग निर्माण सम्झौता भएको प्रदेश संसद् सचिवालयले जनाएको छ । अहिले भवन निर्माणको लागि प्रारम्भिक काम भैसकेको छ । निर्माणस्थल सम्म्याउने र डन्डी तेर्स्याउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

भवन ३ तलाको हुनेछ । भुइँतलामा ५ वटा संसदीय दलको कार्यालय, ५ वटा भीआईपी कार्यालय निर्माण हुनेछ । भीआईपी कार्यालयहरू मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवको हुने छन् । त्यसमाथिको तलमा संसद्को बैठक कक्ष बन्नेछ । ७८ जना अट्ने गरी बैठक कक्ष निर्माण हुँदै छ । दर्शक दीर्घाका लागि छुट्टै ८० जनाको कक्ष निर्माण हुन्छ । त्यसबाहेक सामान्य र भीआइपी कक्ष, मार्सल अफिस, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल र टिभी स्टुडियो हुनेछ ।

सँगै पार्किङ र चमेना गृह बनाइने छ ।

  • ३ भाद्र २०८२, मंगलवार ११:२८ प्रकाशित