टप एण्ड टी २० सिरिजमा नेपाल ३१ रनले पराजित

केन्द्रभाग मिडिया

काठमाडौं ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार मेलबर्न स्टार्स एकेडेमीसँगको खेलमा नेपाल ३१ रनले पराजित भएको हो ।

मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आक्रमक ब्याटिङ गरेका कुशल भुर्तेल १३ बलमा ४ चौका मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए । लगत्तै भिम शार्की व्यक्तिगत १ रनमा आउट हुँदा नेपाल ४ ओभरमा ३२-२ को स्थितीमा थियो । त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाएका थिए ।

रोहित र आसिफ लगातार आउट भएपछि नेपाललाई धक्का लागेको थियो । रोहित १६औं ओभरमा ३३ रनमा आउट भए । ३१ बल खेलेका उनले ३ चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा गएका नेपाली खेलाडी लगातार विकेट गुमाए । कुशल मल्ल ११, दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए ।

नेपालले अब होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

  • २ भाद्र २०८२, सोमबार १०:४८ प्रकाशित