पर्यटकीय सहर पोखरामा सवारी प्रदूषणको धब्बा (भिडियोसहित)

७० वटा सवारी साधनको प्रदूषण मापन गर्दा ४० वाटा मापदण्ड विपरित, मर्मत गर्दासमेत मापदण्ड अनुरुप चलाउन सकिएन : व्यवसायी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा सोमबार गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीको उपस्थितिमा सवारीसाधनको सवारी प्रदूषण मापन गरिएको छ । ७० वटा सवारी साधनको प्रदूषण मापन गर्दा ४० वाटा सवारी साधन मापदण्ड विपरित भेटिएका छन् ।

डिजेलबाट चल्ने ७० सवारी साधनको चेकजाँच गर्दा ४० वटा मापदण्ड विरित भेटिएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार सामान्य आँखाले हेर्दा प्रदूषण धुवाँ कम फाल्ने यातायातका साधनको भने प्रदूषण मापन गरिएको थिएन ।

हरेक ६र६ महिनामा सवारी चाँचपास गर्दा प्रदूषण चेकजाँच अनिवार्य रहेपनि ठाउँको अभावका चेकजाँच गर्न समस्या रहेको छ। ओपासीटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकुल नै मानिने यातायात व्यवस्था कार्यालय सवारी कास्कीका मेकानिकल इन्जिनियर सुमन शर्माले जानकारी दिए ।

७० वटा सवारी साधन चेकजाँच गर्दा ४० वटा प्रदूषण मापनमा फेल हुनु भनेको पोखराको वातावरणका लागि निकै प्रतिकुल मान्नुपर्ने यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख शर्माको भनाई छ ।

प्रमुख शर्माका अनुसार प्रदूषण गर्ने सवारी साधन सुरुमा मर्मतसंहार गरेर चलाउन निर्देशन दिइएको छ । त्यसपछि पुन जाँच गरेर मापदण्ड अनुरुप पाइएमात्र नियमित सञ्चालन गर्न दिइन्छ । मापदण्ड विपरीत वातावरण प्रदूषण गर्ने सवारी साधनको इजाजत रुटसम्म खारेज गर्न सकिने उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार केसीले सडकमा ट्राफिक प्रहरीले नांगो आँखाले देखेको भरमा कारबाही गर्न पठाउन समस्या हुने तर यसरी नियमित चेकजाँच गर्दा पोखराको वातावरण प्रदूषण कम गर्न सकिने बताए ।

मर्मत गर्दासमेत मापदण्ड अनुरुप चलाउन सकिएन : व्यवसायी

सार्वजनिक सवारी साधनले वातावरण प्रदूषित हुनेगरी अत्याधिक धुवाँ फाल्ने गरेको बारे जिज्ञासा राख्दा पोखरा यातातयात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले मर्मत गर्दासमेत मापदण्ड अनुरुप चलाउन नसकिएको स्विकार गरे । आफ्नो सवारी साधनलाई मर्मतसंहार गरेर राम्रो राख्ने इच्छा र प्रयास हुँदाहुँदैपनि नसकिएको उनको गुनासो छ ।

उनले सवारी साधन कन्डिसनमा राख्नका लागि इन्धनपनि सुद्ध हुनुपर्ने बताए । साथै मर्मतसंहार गर्ने दक्ष प्राविधिकको पनि पोखरामा अभाव रहेको उनको भनाई छ । ‘खराव इन्धनका कारण हो वा के हो ? त्यो, थाहा भएन । आफ्नो सवारी साधन राम्रो कन्डिसनमा होेस् भन्ने सबैको चाहना हुन्छ । हामीले प्रयास पनि गरेका छौं । कतिपय सवारी साधन मर्मत गर्दापनि जाँचपास हुन नसकेर फाल्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘सरकारले नै यहाँ गएर मर्मत गर भनिदिए त्यहीँ गएर हामी नियमित मर्मत गर्थ्यौं । दक्ष जनशक्ति उत्पादन गर्ने र उपलब्ध गराउने दायित्व सरकारको पनि हो।’

सुधार गरेपछि प्रतिक्रिया दिन्छु : मन्त्री केसी

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीको सवारी साधनले गर्ने प्रदूषणको विषयमा अहिले आफू बोल्ने भन्दापनि सुधार गरेर देखाउने बताएका छन् । सवारी प्रदूषण चेकजाँचमा उपस्थित भएका उनले सुधार गर्नकै लागि फिल्डमा खटाएको प्रतिक्रिया दिएका उनले औपचारिक रुपमा सुधार भएपछि मात्र बोल्ने बताए ।

अब नियमितरुपमा प्रदूषण चेकजाँच गर्न निर्देशन दिएको बताएका उनले सरोकारवालासंग बसेर आफू छलफल गर्दै कडाइका साथ अगाडि बढ्ने बताए । सवारी प्रदूषणका विषयमा केन्द्रभाग डटकमले राखेको जिज्ञासामा उनले भने, ‘म अहिले औपचारिक प्रतिक्रिया दिने पक्षमा छैन । सुधार भएपछि औपचारिक प्रतिक्रिया दिउँला । रिजल्ट निकाल्न मातहतका निकायलाई निर्देशन दिएको छु र आफैपनि खटेको छु । रिजल्ट आएपछि औपचारिक प्रतिक्रिया दिन्छु ।’

  • २ भाद्र २०८२, सोमबार १२:११ प्रकाशित