पोखरा ।
अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्वअध्यक्ष लेफ्टिनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । पर्वत खाल्टेमा जन्मेका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार सम्पन्न भएको हो ।
उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा आयोजना गर्न सुझाव दिए । ‘कामको सिलसिलामा विदेशमा भए पनि जन्मभूमि र खेल पर्यटनको विकासमा योगदान दिन पाउँदा खुसी लागेको छ,’ गुरुङको भनाइ थियो ।
प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । साथै नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने पोखरा क्लिक डटकमका वरिष्ठ संबाददाता असफल गौतमले बताए । गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो ।
यसैगरी, वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने भएका छन् । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको व्यवस्थापक सागर सुनार बताउँछन् । उनका अनुसार भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।















