काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्ति भनेर दाबी गर्नेहरू व्यवस्था मास्नेतर्फ लागेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा मधेश प्रदेश प्रहरीको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नयाँ शक्ति भनेर दाबी गर्नेहरूको देशमा केही योगदान नरहेको हुनाले व्यवस्था मास्नेतर्फ लागेको उल्लेख गरे ।
‘नयाँ भर्खर खुलेका पार्टी, अराजकता फैलाउने केही तत्व जसको देशमा केही योगदान छैन । उसले देशलाई माया गर्न सक्दैनन्प्र,’ धानमन्त्री ओलीले भने, ‘यो व्यवस्था हामीले संघर्ष गरेर ल्याएका छौं । हाम्रा साथीहरूले बलिदानी दिनु भएको छ, सहादत प्राप्त गर्नु भएको छ । त्यसकारण यो देशको माया हामीलाई छ ।’
नयाँ पार्टीतर्फ संकेत गर्दै उनीहरूलाई यो व्यवस्था अत्यन्तै अप्रिय लागेको प्रधानमन्त्री ओलीले बताए । यो व्यवस्था रहिरहने तर केही सुदृढ गरिने उनको भनाइ थियो । सरकार पनि परिवर्तन नहुने उल्लेख गर्दै उनले देशको विकासमा दुई ठूला पार्टी इमान्दारसाथ लागेको बताए ।













