जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भएर कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भएर गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन् ।

आरोपीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन् ।यसअघि साउन २३ मा चितामा जल्दै गरेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने गणेश प्रसाद ढलका र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए ।

काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेको आरोप छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको खुलेको छ ।

ढकाल २५ वर्षदेखि पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाएबापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् ।

प्रहरीले ठाकुरले प्लास्टिकमा पोको बनाएर राखेको अवस्थामा हड्डीको धुलो र खरानी बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

  • २९ श्रावण २०८२, बिहीबार १३:४५ प्रकाशित