अशोक राई र राजेन्द्र महतो नेतृत्वको पार्टीबिच कार्यगत एकता हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच आज कार्यगत एकताको घोषणा हुने भएको छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा ती दुई दलले कार्यगत एकताको घोषणा गर्न लागेका हुन् ।

चाँडै नै यी दुई दलबिच एकता हुने बताइएको छ । जसपाका एक नेताले भने, ‘यो एकता नै हो, यसको नाम कार्यगत एकता दिएको मात्र हो एकताका लागि सबै खाका तयार भइसकेको छ चाँडै नै एकता पनि घोषणा हुन्छ ।’

दुवै पार्टीको मूल कमिटी तथा शीर्ष नेताहरूको बिचमा एकताको लागि सहमति भइसकेको छ । तल्लो तहमा पनि यसबारे छलफल गराएर एकता प्रक्रियालाई अगाडि बढाउने तयारी भइरहेको ती नेताले बताए । कार्यगत एकता भएपछि संयुक्त रूपमा प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म कार्यक्रम जान्छ र त्यही कार्यक्रममार्फत एकताको लागि छलफल हुने बताइएको छ ।

कार्यगत एकताको घोषणा भएपछि दुवै दलले जनपरिचालनका कार्यक्रमहरू सञ्चालन गर्ने र दुवै दलबिच एकताको पक्षमा जनमत सिर्जना गर्ने सहमति भइसकेको छ । यसका लागि जनप्रदर्शन, आमसभा, सेमिनार र गोष्ठी आदिजस्ता कार्यक्रमहरू गर्ने तयारी दुवै दलको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले पनि दुई पार्टीबिच एकताको सम्भावना रहेको बताए ।

  • २९ श्रावण २०८२, बिहीबार १३:१० प्रकाशित