पाल्पाको दोभान कालीरहमा ५० मिटर बढी सडक भासियो

केन्द्रभाग मिडिया

पाल्पा ।

पाल्पाको दोभान कालीरहमा ५० मिटर बढी सडक भासिएको छ। वर्षौदेखि सडक भाँसिदै गए पनि यसको रोकथामको नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचलका दर्जन बढी गाउँ जाने सडक जुनसुकै बेला बन्द हुने अवस्थामा पुगेको छ। अहिले पनि सडक भासिएको छ ।

पानी पर्नेबित्तिकै सडक सञ्चालनमै समस्या हुने तिनाउ गाउँपालिका–२, दोभान खुर्सानेका रत्न विकले बताए ।उनका अनुसार कालीरहमा सडक भासिन लागेको वर्षौ भइसकेको छ। ‘सडक भासिन लागेको वर्षौ भइसकेको छ,’ उनले भने, ‘तर यसको रोकथामका लागि काम हुन सकेको छैन ।’

वर्षा हुनासाथ कालीरह क्षेत्रमा सवारीसाधन संचालन गर्न समस्या हुने उनले बताए । केही दिनयता परेको देखिको अविरल वर्षासँगै सडकको माथिल्लो भागमा पहिरो खस्दै गएको छ । तल्लो भागमा खोलातर्फ भासिएको छ । पानी पर्ने हो भने साना तथा ठूलो सवारीका साधन संचालन गर्न कठिनाई हुने स्थानीयले बताए।

तल्लो भागमा कचल खोला बगेको छ । कचल खोलातर्फ छियाछिया भएर सडक भासिँदै गएको छ । स्थानीय बासिन्दा हिमाल महतराका अनुसार अहिलेसम्म ५० मिटर बढी सडक भासिइसकेको छ ।

सडकको तल्लो भागमा भासिदै गएको र माथिल्लो जंगल क्षेत्रमा सडक बनाएर हिउँदमा सवारी साधन संचालन हुँदै आएको छ ।

  • २८ श्रावण २०८२, बुधबार ११:४२ प्रकाशित