स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिका–१० बोटेटारमा डीप ट्युबेलबाट खानेपानी र सिँचाइको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट भूमिगत जलश्रोत तथा सिँचाइ कार्यालय नवलपुरको अगुवाईमा डीप ट्युबेलबाट खानेपानी र सिँचाइको व्यवस्था गरिएको हो ।
बोटेटारका स्थानीय र जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी ट्युबेलबाट खानेपानीको सुविधा उपलब्ध गराइएको हो । डीप ट्युबेल मार्फत निस्केको पानीबाट एक दर्जन स्थानीय घरपरिवार र विद्यालयका करिब चार सय विद्यार्थी लाभान्वित हुनेछन् ।
झण्डै ३७ लाखको लागतमा एक सय ३८ मिटर गहिराइ (जमिन मुनि) बाट डीप ट्युबेल मार्फत पानी निकालिएको छ । प्रतिसेकेन्ड तिन लिटर पानी आउने डीप ट्युबेलबाट विद्यालय र स्थानीयलाई खानेपानी सहज हुने कार्यालयका वरिष्ठ सब–इन्जिनियर मुकेश विकले बताए । खानेपानीको उपभोगपछि बचत हुने पानीबाट सिँचाइमा समेत प्रयोग गर्न सकिने उनले सुनाए ।
डीप ट्युबेलबाट निकालिएको पानीमा धमिलोपना, केमिकल जन्य पदार्थको परिक्षण, दिशाजन्य पदार्थ छ की छैन् र पानीमा कोलोरिनको मात्रा कति छ भनेर प्रयोगशालामा परिक्षणपछि पानीलाई उपभोगमा ल्याउन विकले सुझाए । ट्युबेल पानीमा फिकल कोलिफर्म देखिन सक्ने भएकाले पानी उमालेर मात्र प्रयोग गर्नुपर्ने जानकार बताउँछन् ।
तिन वर्ष देखिको प्रयासपछि बोटेटारमा डीप टुयुबेलबाट पानी आएको छ । विद्यालय र आसपासका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । पुरानो खानेपानी योजनामा पानीको मुल अभाब भएपछि बोटेटारमा खानेपानीको समस्या बढेको स्थानीय बताउँछन् ।
डीप ट्युबेलबाट पानी निस्केको छ, पानीको उपभोगमा ध्यान पु¥याउँदै पानीलाई बहुउपयोग क्षेत्रमा प्रयोग गरिने विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पंगेनीले बताए । ‘ट्युबेलबाट निस्केको पानी विद्यालयका विद्यार्थी र स्थानीयलाई पिउन दिन्छौं ।’ उनले भने, ‘उपभोगपछि (खेर जाने) बचेको पानीबाट विद्यार्थीलाई पढ्दै, कमाउँदै भन्ने अभियान संचालन गरेर सिँचाइमा उपयोग गर्छौ ।’
ट्युबेलबाट पानी आएपछि स्थानीयसँगै खुसी भएका प्रधानाध्यापक पंगेनीले विद्यालयको स्मामित्वमा रहेको जग्गामा मौसमी तथा बेमौसमी खेती गर्न विद्यार्थी प्रशिक्षण दिने बताए । पानीको सदुपयोग गरेर विद्यार्थीलाई नर्सरी व्यवस्थापन, तरकारी, फलफूल खेतीमा आबद्ध बनाएर पढ्दै, कमाउँदै अभियानमा लगाउने उनले जनाए ।
गण्डकी प्रदेश सरकार स्थापनासँगै बनेको उक्त कार्यालयले स्याङ्जाको चापाकोटमा भूमिगत जलश्रोतको व्यवस्थापन गर्दै आएको थियो । कार्यालयले पछिल्लो ७ वर्षमा चापाकोट नगरपालिका–९ को पाकरीमा एक वर्षअघि डीप बोरिङ्बाट पानी उत्खनन् गरेर परिक्षण गर्न सफल गरेको थियो । परिक्षण भएको उक्त योजना हालसम्म स्थायी रुपमा संचालन हुन सकेको छैन् ।















