काम गर्दा लाग्ने रोगलाई सरकारले‘व्यवसायजन्य रोग’को कानुनी मान्यता दियो

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो ।

यो निर्णयले कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई व्यक्तिगत समस्याको रूपमा नभई कानुनी रूपमा सम्बोधन गरेको छ । यसले लाखौं श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न र रोजगारदातालाई आफ्नो कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउनेछ ।

सरकारले मान्यता दिएका व्यवसायजन्य रोगहरूलाई विभिन्न आठ श्रेणीमा विभाजन गरिएको छ । कार्य गतिविधिहरूबाट उत्पन्न हुने एजेन्टहरूको सम्पर्कको कारण हुने व्यवसायजन्य रोगहरूमा रासायनिक एजेन्टहरूको कारण हुने रोगहरू, भौतिक एजेन्टहरूको कारण हुने रोगहरू, जैविक एजेन्टका कारण हुने संङ्क्राकम वा परजीवी रोगहरू रहेका छन् ।

जसमा क्रोमियम, लिड (सिसा), पारा (मर्करी), बेन्जिन, श्वासप्रश्वासमा अवरोध गर्ने ग्यास, सल्फर अक्साइड, जिंक, अर्गानिक सोल्भेन्ट्स, क्लोरीन र अन्य फार्मास्युटिकल एजेन्टहरूबाट हुने रोगहरू रहेका छन् ।

त्यस्तै भौतिक कारणले हुने रोगहरूमा श्रवण शक्ति ह्रास, विकिरणको असर, अत्यधिक तापक्रममा काम गर्दा हुने स्वास्थ्य समस्या रहेका छन् ।

जैविक तत्वबाट हुने संक्रामक रोगमा हेपाटाइटिस बी, सी र एचआईभी, ब्रुसेलोसिस र एन्थ्रेक्स, टिटानस, क्षयरोग र लेप्टोस्पाइरोसिस जस्ता खिया लागेका औजार प्रयोग हुने, जुनसुकै कार्यस्थल र पशुको मूत्रबाट सर्न सक्ने रोगहरू रहेका छन् ।

श्वासप्रश्वास प्रणालीका रोगहरूमा निमोकोनियोसिस, साइडरोसिस, ब्यागासोसिस, दीर्घकालीन अवरोधक पल्मोनरी रोग रहेका छन् ।

  • २७ श्रावण २०८२, मंगलवार १६:११ प्रकाशित