काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।
लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको बताएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा छन् ।
उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् । ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ । दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ ।














