रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज प्रकाशन गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को निर्वाचनमा आकांक्षी उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ सार्वजनिक गर्ने भएको छ । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन् ।

केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार आकांक्षीबिच साझा नाम छनोटका लागि छलफल भएको थियो । पार्टीको तर्फबाट मोडरेसन ९मध्यस्थता० सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गरेका थिए । आफ्नो नाम फिर्ता लिन चाहने व्यक्तिले दिउँसो ४ बजेसम्म लिखित रूपमा दिन आग्रह गरिएकाले प्राप्त दस्ताबेजका आधारमा नामावली सार्वजनिक गरिने आचार्यले जानकारी दिए ।

‘पार्टीले यसलाई उम्मेदवार बनाऊँ वा अर्कोलाई बनाऊँ भनेर हस्तक्षेप गर्दैन । हिजो उम्मेदवारका आकाङ्क्षीहरू बसेर छलफल गर्नुभयो । नाम फिर्ता लिन चाहने व्यक्तिलाई आज दिउँसो ४ बजेसम्म लिखित दिनोस् भनेका छौँ । कसले फिर्ता लिए वा लिएन त्यसपछि मात्र थाहा हुन्छ । त्यसकै आधारमा हामी साँझतिर नामावली प्रकाशन गर्छौँ’, उनले भने ।

आवेदन दिएका व्यक्तिहरुमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, डा।लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुशुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् । आवेदन दिनेमा महर्जन बाहेक सबै जना स्थानीय रहेका छन् । खरेल र अर्यालबाहेक सबै सिद्धार्थनगरका रहेका छन् ।

  • २६ श्रावण २०८२, सोमबार १२:५३ प्रकाशित