‘अन्डरवर्ल्ड डन’ दाउदका सहयोगी नेपालमा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका एक सहयोगी नेपालमा पक्राउ परेका छन् । पाँच दिन अघि काठमाडौँबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतमा ‘मोस्ट वान्टेड’ रहेका शेख सलीम उर्फ सलीम पिस्टललाई पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले भारतमा आपराधिक गतिविधिमा संलग्न विभिन्न समूहलाई हतियार आपूर्ति गर्दै आएको बताइन्छ ।

पहिचान लुकाएर काठमाडौँमा बस्दै आएका उनको बारेमा भारतीय प्रहरीले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले कारबाही अघि बढाएको स्रोतको भनाइ छ । सलीमलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीले नै भारतीय प्रहरीसमक्ष बुझाएको बताइएको छ ।

दुई देशबिच बेलाबखत यस प्रकारको समन्वयका आधारमा कारबाही हुने गरेको प्रहरी स्रोतको भनाइ छ ।

पक्राउ परेका सलीम भारतमा विभिन्न अपराधमा संलग्न रहेको भन्दै भारतीय मिडियाले उनी नेपालमा पक्राउ परेको समाचार प्रकाशन गरेका छन् । भारतीय मिडियाका अनुसार नेपाल प्रहरीले नियन्त्रणमा लिएर उनलाई भारतीय प्रहरीसमक्ष बुझाइएको हो ।

  • २५ श्रावण २०८२, आईतवार १३:१९ प्रकाशित