काठमाडौं ।
नेपालले एएफसी यू-२० महिला एसियन कप छनोटमा आज नेपालले बलियो उत्तर कोरियाको सामना गर्दैछ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल आइतबार दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको थियो ।
उत्तर कोरियाले साउदी अरेबियालाई १५-० तथा भुटानलाई १०-० को फराकिलो अन्तरले हराएको छ । नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह (यू-१९) मा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९-० गोलअन्तरले पराजित भएको थियो ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
नेपालले एसियन कपमा छनोट हुन उत्तर कोरियालाई हराउनै पर्नेछ ।















