काठमाडौं ।
नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ ।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले तल्ला कमिटीहरुलाई पठाएको सर्कुलरमा जनार्दनले आत्मआलोचना गर्नुभन्दा पनि नमानेको उल्लेख छ ।
‘अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरुको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो,’ सर्कुलरमा उल्लेख छ, ‘तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषय बाहेक अन्य बिषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो ।’
स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ का सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भएको सर्कुलरमा उल्लेख छ ।
छलफलका क्रममा विशेषत : पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रुपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दिजन्य गतिबिधिहरू सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहर स्थायी कमिटीले गरेको छ ।














