नेपालले एक वर्षमा साढे १७ अर्बको बिजुली निर्यात गर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं।

गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको छ । नेपालले गत वर्ष वैदेशिक बजारमा विद्युत् निर्यात बढाउँदा एक वर्षमै साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले आव २०८१/०८२ को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात गरेको जनाएको छ । त्यस्तै, भारत पछि बङ्गलादेशमा पनि गत वर्ष २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको प्राधिकरणले जनाएको छ । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको छ ।

उक्त रकम अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि भएको ऊर्जा मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले भारतमा १६ अर्ब ९३ करोडको बिजुली निर्यात गरेको थियो ।

त्यस्तै, नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बङ्गलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बङ्गलादेशसम्म निर्यात भइरहेको छ । गत वर्ष भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

  • २२ श्रावण २०८२, बिहीबार १७:०८ प्रकाशित