पोखरा ।
गत मंगलबार प्रथम ऊर्जा योजना सार्वजनिक गरेको पोखरा महानगरलाई पोखराको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी हाउसको साथ मिलेको छ । पोखराका तालहरूको संरक्षण, सरसफाइ र सौन्दर्यकरणका लागि पोखरा महानगर र लक्ष्मी ग्रुपबीच एक महत्त्वपूर्ण पाँचवर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले समझ्दारी पत्रमा हस्ताक्षर गर्दै समझदारी आदनप्रदान गरेका छन् । तालहरूमा बढ्दो लेउ, जलकुम्भी झारको प्रकोप र प्रदूषणको समस्यालाई दिगो रूपमा समाधान गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले यो समझदारी गरिएको पोखरा महानगर र लक्ष्मी ग्रुपले जनाएका छन् ।
नेपालकै अग्रणी व्यापारिक समूहको रूपमा स्थापित लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता जनाए अनुसार वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ तथा रोजगारी सिर्जना सम्बन्धी परियोजना सञ्चालनका लागि समझदारी गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।
समझदारीअनुसार, लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ताल सरसफाइका लागि आवश्यक अत्याधुनिक प्रविधि, वित्तीय स्रोत, उपकरण र जनशक्ति उपलब्ध गराउनेछ । तालबाट निकालिएको जलकुम्भी झारलाई प्रयोग गरी हस्तकलाका सामग्री उत्पादन गर्न स्थानीय समुदायलाई सीपमूलक तालिम प्रदान गरिनेछ, जसले रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।
उनका अनुसार यसका साथै, परियोजनाले गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षणको अवसर प्रदान गर्नेछ भने गरिबीको रेखामुनि रहेका एक हजार विपन्न घरपरिवारलाई इन्डक्सन चुल्हो वितरण गरी महानगरको ऊर्जा योजनामा समेत सघाउ पुर्याउनेछ ।
लक्ष्मी ग्रुपका परियोजना सम्झौता मितिबाट ६ महिनाको परीक्षणकालसहित कुल पाँच वर्षसम्म सञ्चालन हुनेछ । पहिलो चरणमा पाइलट परियोजनाको मूल्यांकन गरी त्यसको प्रभावकारिताका आधारमा फेवाताल लगायत अन्य तालहरूमा क्रमशः विस्तार गर्दै लगिनेछ । महानगरपालिकाले परियोजनाको प्राविधिक गुणस्तर अनुगमन गर्नेछ ।
यस सहकार्यले पोखराका तालहरूको वातावरणीय सन्तुलन कायम राख्दै पर्यटकीय आकर्षण बढाउने, फोहोर र प्रदूषणको समस्यालाई स्थायी रूपमा समाधान गर्ने र स्थानीय समुदायको आयआर्जनमा सुधार ल्याउने विश्वास गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिना र लक्ष्मी हाउसका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठ लगायतले परियोजनाको विविध पक्षका बारेमा बोलेका थिए ।















