काठमाडौं ।
सरकारले चाडपर्वलक्षित सुपथ मूल्य (सहुलियत) पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ ।
उद्योग मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालनको तयारी थालेका छन् । उक्त पसल सञ्चालनका लागि झन्डै चार करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले देशैभर चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनका लागि ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको हो ।
वर्षैभरि सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ५२ लाख रुपैयाँ बजेट छुटाइएको छ । यस्तै साल्ट ट्रेडिङले पनि यस्तो पर्वलक्षित पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल सञ्चालन खर्च तथा छुटका लागि १ करोड ३४ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको छ । विभागले तीजपछिदेखि चाडपर्वलक्षित अनुगमन गर्ने जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर १ सयभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।














