पाँचथर ।
पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् ।
गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमाको आज बिहान बिरुवा खोलामा शव भेटिएको हो ।
उनीहरूको शव खोला किनारामा झन्डै दुई सय मिटरको फरकमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए। बेपत्ता बालबालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली हिजो च्याङथापू पुगेको थियो ।
शिशिर कक्षा ४ र नानुमा कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययनरत थिए । वडाध्यक्ष खालिङका अनुसार बाबु बिर्खबहादुरले साउन १५ गते बिहान छोराछोरीलाई हजुरआमा कहाँ गएर खाना खाई स्कूल जानू भनेर पठाएको तर त्यसदिनभर उनीहरूको अवस्था थाहा नभएपछि अर्को दिन साउन १६ गतेदेखि खोजी थालिएको थियो ।
मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेको बताइएको छ । पाँचथरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० कौशलकुमार बुढाथोकीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।














