काठमाडौं ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् ।
शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले पछिल्लो अवस्थाबारे जानकारी लिँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
बैठकमा खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’मा रहन र कुनै घटना भइहालेमा सकेसम्म क्षति हुन नदिन निर्देशन दिएका थिए । साथै उनले सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिएका थिए ।
बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।
बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले देशभरको अवस्था र तयारीबारे जानकारी गराएका थिए ।














