मधेस प्रदेशको बारा र सिराहामा भारी वर्षा

केन्द्रभाग मिडिया

rain flows down from a roof down

बारा ।

पछिल्लो २४ घण्टाको अवधिमा मधेस प्रदेशका ८ जिल्लामध्ये बारा र सिराहामा भारी वर्षा भएको छ ।

मधेस प्रदेशका केही जिल्लाहरूमा शुक्रवार साँझदेखि र बारा, पर्सा रौतहटमा भने शनिवार साँझदेखि वर्षा सुरु भएको हो ।

जल तथा मौसम विज्ञान विभाग सिमरा शाखा कार्यालयको तथ्यांकअनुसार सोमबार बिहान ८ः४५ देखि मंगलबार बिहान १० बजेसम्म सबैभन्दा धेरै वर्षा बाराको सिमरा, निजगढ र सिराहाको गोलबजारमा ७१ देखि ७७ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञानका अनुसार ५० मिलिमिटर भन्दा बढी पानी परेमा त्यसलाई भारी वर्षा मानिन्छ ।

साथै मधेस प्रदेशकै सप्तरीको बर्मझिया र महोत्तरीको गौशाला स्टेसनमा भने छिटफुट मात्रै वर्षा भएको सिमरा मौसम कार्यालयका सहायक मौसमविद् लक्ष्मण कँडेलले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा रौतहटको महेशपुर स्टेसनमा ३४ मिलिमिटर, सर्लाहीको पथ्थरकोट स्टेसनमा ४०, धनुषाको तुलसी मौसम केन्द्रमा ३७ र पर्साको ठोरी स्टेशन अन्तर्गत ३५ मिलिमिटर मात्रै वर्षा भएको देखिएको छ ।

  • २० श्रावण २०८२, मंगलवार १२:११ प्रकाशित