पोखरा ।
कार्यबहाक प्रधानमन्त्री एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्झौता भए अनुरुप समयमा आयोजनाहरु सम्पन्न गराउन सरकार लागि परेको बताएका छन् । सोमबार पोखरामा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दे उनले यस्तो बताएका हुन् ।
सम्झौता अनुरुप समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले कीर्तिपुर क्रिकेट रंगशालामा निर्माण कम्पनीले विलम्भ गरेबापत जरिवाना तिर्दै काम गरिरहेको चर्चा गरे । अब सरकारले कडाइका साथ यतातर्फ मुल्यांकन गरेर काम गर्ने उनको भनाई थियो । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित भवन भने समयमा नै सम्पन्न गरेकोमा उनले आभार प्रकट गरे ।
कार्यबहाक प्रधानमन्त्री सिंहले संविधान अनुरुप संघीयताको व्यवहारिक कार्यान्वयन हुन नसकेको स्विकार गरे । ठूला योजना संघले, मध्यम योजना प्रदेश र साना योजना स्थानीय सरकारले बनाउने नै भएपनि त्यसको प्रयास गरिएको तर परिणाम देखाउन नसकेको उनले स्विकार गरेका हुन् । अभ्यास हुँदैजाँदा संघीयता व्यवहारिक रुपमै कार्यान्वयन हुने उनले अपेक्षा प्रकट गरे ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उस्तै योजना कार्यान्वयन गर्ने हो भने संघीयताको मर्म के हुन्छ भन्दै प्रश्न गरे । ‘संघीय सरकारले गर्ने काम पनि उस्तै, हामी (प्रदेश) ले गर्ने काम पनि उस्तै अनि स्थानीय तहले गर्ने काम पनि उस्तै र एउटै हुन्छ भने संघीयताको अर्थ के ?’ उनले भने, ‘संविधानको मर्म अनुरुप ठूला आयोजना केन्द्रले, त्यसपछिका मध्यम खालका आयोजना प्रदेश र साना खालका आयोजना स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने हो । त्यो अभ्यासमा आउन नसक्दा प्रश्न उठिरहेका छन् ।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संघीय सरकारले निर्माण गरेका पूर्वाधारहरुको पनि महानगरबाट पूरा गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिए । संघीय सरकार वा अन्य सरकारी कार्यालय र त्यस मातहतका कार्यालयहरुले महानगरको मापदण्ड अनुरुप गर्नुपर्ने कार्य नगरेको तर्फ उनले ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख आचार्यले कतिपय संघीय योजना महानगरका योजनाभन्दापनि साना योजना कार्यन्वयनमा आएको पाइएको बताए । ‘कतिपय संघीय योजना हाम्रो महानगरका योजना भन्दा साना पनि छन् । यसले संविधान र व्यवस्था अनुरुपको अभ्यास देखिँदैन’ उनले भने ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिक्देलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले स्वागत गरेका थिए । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्की प्रमुख (सीडीई) सुनिता श्रेष्ठले भवन निर्माण सम्बन्धि जानकारी दिएकी थिइन् भने लेखा अधिकृत युक्त प्रसाद शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।

चार करोड १७ लाख ३३ हजार रुपैयाँ लागत
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित कार्यालय भवन ४ करोड १७ लाख ३३ हजार ६८६ रुपैयाँ (मुअक बाहेक) लागतमा निर्माण भएको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीका प्रमुख (सीडीई) सुनिता श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार १० असार २०८० मा निर्माण सम्झौता भएर १० पुस २०८१ मा निर्माण सम्पन्न गर्नेगरी सूर्य कन्स्ट्रक्सन कम्पनी प्रालि पोखरा ७ ले निर्माणको जिम्मा लिएकोमा निर्माण सम्पन्न गर्नुपर्ने मिति भन्दा अगाडि नै भवन निर्माण सम्पन्न गरेको हो । नवनिर्मित कार्यालय भवनको भुइ, प्रथम, दोस्रो र तेस्रो तथा अन्तिम तला सहित ४ तलाको रहेको छ ।
भवनको भुई तलामा पार्किङ, सवारी चालकका लागि कार्यकक्ष, ल्याव कोठा, दर्ता चलानी, स्टोर रहेको छ । पहिलो तलामा ईन्जिनियर र सव ईन्जिनियरहरूको प्राविधिक फाँट, भवनको दोस्रो तलामा कार्यालय प्रमुख कक्ष, लेखा शाखा, प्रशासन, खरिद शाखा र भवनको तेस्रो तथा अन्तिम तलामा मिटिङ हल, भान्छा कोठा, पुस्तकालय कक्ष, स्टोर रहेको छ ।















