अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी गठन

केन्द्रभाग मिडिया

पोखरा ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति गठन भएको छ । वरपिपल रिसोर्टका सञ्चालक एवं उद्यमी जितु गुरुङको अध्यक्षतामा शनिबार सर्वसम्मत रूपमा १९ सदस्यीय समिति गठन भएको हो ।

नवगठित  समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ, सचिवमा चिरञ्जीवी गौतम, सहसचिवमा राजकुमार सुनार, कोषाध्यक्षमा कोषराज पौडेल र सहकोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन् । टान गण्डकीका अध्यक्ष एवं कार्यक्रमका संयोजक कृष्णप्रसाद आचार्यले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

नवगठित  समितिलाई बधाई दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार युवा उद्यमीहरूसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । उनले प्रदेशमा छिट्टै पर्यटन र कृषिलाई लक्षित गरी लगानी सम्मेलन आयोजना गरिने जानकारी दिए । मुख्यमन्त्री पाण्डेले प्रदेशको आर्थिक विकासका लागि केही महत्त्वपूर्ण कानुनी सुधार गर्न लागिएको खुलासा गरे ।

उनले बाँझो जमिनको सदुपयोग गर्दै गाँजा खेतीलाई व्यावसायिक रूपमा अघि बढाउन र स्थानीय मदिरालाई ब्रान्डिङ गर्न कानुनी मान्यता दिइने बताए। ‘गाँजाको औषधीय गुणलाई सदुपयोग गर्दै विदेश निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘दुरुपयोग रोक्न कडा कानुनी व्यवस्था गरिनेछ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य विकास गरेर पर्यटकको बसाइ अवधि २० दिन पुर्‍याउन सकिने बताए । उनले आफ्नो लगानी रहेको कम्पनीबाट १० अर्ब लगानी भइसकेको र आवश्यक परेमा व्यवसाय प्रवर्द्धनका लागि थप लगानी गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली र कार्यक्रमका संयोजक कृष्णप्रसाद आचार्य लगायतले बोलेका थिए ।

  • १७ श्रावण २०८२, शनिबार २०:५५ प्रकाशित