सम्भावना देखाएर सम्पन्न भयो आरयु फेष्ट, १० हजारले गरे अबलोकन

केन्द्रभाग मिडिया

पोखरा ।

कागज, बोतल, लत्ताकपडा, टायर र अन्य अवशेष फोहोरबाट कसरी नयाँ नयाँ उत्पादन गर्न सकिन्छ र त्यसको प्रयोग कसरी हुन्छ भन्ने चित्र प्रस्तुत गर्दै पोखरामा आरयु फेष्ट सम्पन्न भएको छ ।

फेष्टमा दर्जनभन्दा बढी कम्पनीहरूले आफ्नो सिर्जना पस्केका थिए-कसैले पुराना जिन्स पाइन्टबाट झोला बनाएका थिए, कसैले प्लास्टिकबाट वाल डेकोरेशन, गमला, टेबलजस्ता सामग्री बनाएका थिए । यसरी समग्री बनाउने र सम्भावना देखाउन आयोजित आरयु फेष्टको १० हजार भन्दा बढिले अवलोकन गरेका छन् ।

पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआयू) अन्तरर्गत दुई दिनसम्म पोखरा इभेन्ट सेन्टरमा आरयु फेष्ट गरिएको हो ।

फोहोरलाई खजना (मोहोर) बनाउने मूल मन्त्र र पोखरा लगायत सिंगो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयास रुवरूप फेस्ट गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माणमा सघाउ पुर्‍याउने उनले विश्वास प्रकट गरेका छन् ।

फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा गरिएको छ ।

हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइरहेको छ । नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा जिभिजेड निर्माणको काम भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ ।

  • १७ श्रावण २०८२, शनिबार २०:३७ प्रकाशित