पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयमा कक्षा १२ का विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा डा. आरसी लामिछानेले विद्यार्थीका लागि उत्प्रेरणमुलक मन्तव्य पस्केका थिए । विद्यार्थीलाई आत्मबल बलियो बनाएर अध्ययन गरेमा हरेक क्षेत्रमा सफल भईने लामिछानेले बताए । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै आत्मविश्वासका साथ अघि बढेको खण्डमा हरेक क्षेत्रमा सफल भईने बताए । उनले विद्यार्थीको सपना पुरा गर्नका लागि विद्यालय सधैं लागिपर्ने बताए ।

विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यार्थीलाई सुझाउँदै उकालो लाग्दा नआत्तिन र ओरालो पाउँदा नदौड्न विद्यार्थीलाई सुझाव दिए । ‘विद्यार्थी सहज हुँदा दौड्ने र अप्ठेरो हुँदा आत्तिने गर्छन । त्यसो गर्दा असफल हुन पनि सकिन्छ । त्यसैले आत्तिन र मात्तिनु हुँदैन,’ कोइरालाले भने, ‘हरेक कदमलाई सकारात्मक रुपमा लिने हो भने सफल भईन्छ ।’ विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीले विद्यार्थीका लागि कक्षा ११ र १२ पुल मात्र भएको बताए । उनले विद्यालय तहमा २ वर्ष अवधि अध्ययनरत रहँदा केही नयाँ सिकाई पक्का हुने बताए । ‘विद्यार्थी आफैमा लगाव चाहिन्छ । हामीले त गाइड मात्र गर्ने हो । मेहनत विद्यार्थीले नै गर्नुपर्छ,’ क्षेत्रीले भने ।

उक्त कार्यक्रममा कलाकार चोलेन्द्र पौडेलले सांस्कृतिक कार्यक्रम पस्केका थिए । उनले विद्यार्थीलाई अप्ठेरो परेको अवस्थमा भने धैर्य गुमाउन नहुने बताए । त्यसबाहेक विद्यार्थी स्वयंले पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पस्केका थिए । पश्चिमाञ्चल माविमा विज्ञान, मानविकी, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन विषयमा अध्यापन हुन्छ ।

  • १७ श्रावण २०८२, शनिबार १५:५५ प्रकाशित