आज राष्ट्रिय कोदो दिवस : प्रधानमन्त्रीले भने– उत्पादन बढाऔँ, उपभोग गरौँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउदैं छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए । कृषि विभागले आर्थिक वर्ष २०८१–८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

प्रधानमन्त्रीले भने– उत्पादन बढाऔँ, उपभोग गरौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको शुभकामना दिँदै उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न आव्हान गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व समेत रहेको बताएका छन् ।

‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।’

उनले कोदोको उत्पादन बढाउन र यसका परिकार उपभोग गर्न सुझाव समेत दिएका छन् ।‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ १ कोदो दिवसको शुभकामना १’, उनले शुभकामना दिँदै भनेका छन् ।

  • १६ श्रावण २०८२, शुक्रबार १२:०३ प्रकाशित