माओवादी स्थायी समिति बैठक भोलिदेखि

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठक एक वर्षपछि शुक्रबार(भोलि)देखि सुरु हुँदै छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकका लागि माओवादीले एजेण्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेण्डा तय गरेको थियो ।

पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने विषयमा निकै चासोपूर्वक हेरिएको छ । नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो ।

हिजोको बैठकमा सचिव लिलामणि पोखरेलले पार्टीको आन्तरिक विवाद बाहिर पोखिन पुगेको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउँदै कसरी अन्तरविरोध हल गर्ने भनेर प्रश्न गरेका थिए ।

पोखरेलको प्रश्नको जवाफ दिँदै प्रचण्डले स्थायी समिति बैठक नै बोलाइसकेको अवस्थामा अन्तरविरोधबारे कुनै छलफल नहुने बताएका थिए । अन्तरविरोध सम्बन्धमा एजेण्डाकै रूपमा प्रस्ताव गर्ने भनिए पनि यस विषयमा कुनै छलफल नभएको संस्थापन पक्षका एक नेताले बताए ।

ती नेताका अनुसार पार्टीले तय गरेको एजेण्डा बाहेक अन्य कुनै तयारी नभएको स्पष्ट पारे ।

  • १५ श्रावण २०८२, बिहीबार १५:५४ प्रकाशित