पोखरा ।
पोखराको आन्तरिक बस सेवामा ८० प्रतिशत हिस्सा ओगटेको मानिएको पोखरा यातायात प्रालिले सुविधा सम्पन्न यात्रुबहाक इलेक्ट्रिक बस मार्फत आफ्नो सेवा दिन सुरु गरेको छ । प्रालिले बिहीबार देखि ३२ सिट क्षेमताको नयाँ इलेक्ट्रिक बस मार्फत सेवा दिन सुरु गरेको हो । सेवाको पोखरा महानगर यातायात व्यवस्थापन समितिका उपाध्यक्ष एवं पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले अग्रज यातायात व्यवसायीको उपस्थितिमा बस सेवाको सुभारम्भ गरेका हुन् ।
बससेवा सुभारम्भ कार्यक्रममा बोल्दै वडाध्यक्ष तिमिल्सिनाले यात्रुबहाक इलेक्ट्रिक बस सेवा पोखराको सार्वजनिक यातयातलाई व्यवस्थित रुपान्तरणको सुरुवात भएको बताए । उनले यसका लागि पोखरा यातायात प्रालि प्रति आभार प्रकट गरे । उनले पोखरा महानगरपालिकाले एडीवीसंगको सहकार्यमा सवारी रुपान्तरणको अभियान चलाउँदै गरेको जानकारी दिए । पोखरामा ६ वटा बस टर्मिनल निर्माण हुने र ति सबै इलेक्ट्रिक चार्जिङ स्टेसनसहितका बन्ने उनले जानकारी दिए ।
एडीबीले प्रदान गर्ने ऋण सौलियत कुनै व्यक्ति वा समितिले नभई कम्पनीले प्राप्त गर्ने उनको भनाई छ । हाल सार्वजनिक यातायतका साधनले धुँवा धेरै फाल्ने प्रदुषण फैलाउने गरेको भन्दै हुनेगरेको आलोचनालाई परियोजनाले सम्बोधन गर्ने उनले बताए । पोखराको सार्वजनिक यातायातलाई विकेन्द्रित गर्ने र कुनाकुनाका बासिन्दालाई सार्वजनिक यातायातको पहुँचमा पुर्याउने परियोजनाको लक्ष्य रहेको उनले सुनाए । परियोजनाले वातावरणीय स्वच्छता कायम गर्नुका साथै पोखराको यातायात व्यवस्थापनमा सहज हुने उनले धारणा राखे ।
पोखरा १९ का वडाध्यक्ष पुष्पेनद्र पाण्डेले पोखरा बसले पोखरा १६ र १९ लाई प्राथमिकता दिएर सुरुवात गरेको प्रति आभार प्रकट गरे । उनले यातायत क्षेत्रले हजारौं जनालाई रोजगारी दिएको र राज्यलाई गुन लगाएको धारणा राखे । पोखराको यातायात क्षेत्रलाई सहज र व्यवस्थित गर्न पोखरा महानगरले व्यवसायीसंग सहकार्य गरेर अगाडि बढ्दै गरेको जानकारी दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका महासचिव एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले वातावरण मैत्री यातायात सञ्चालनका लागि पोखरा महानगर र व्यवसायी बीच सहकार्य गर्न आग्ह गरे । उनले व्यवसायी लगानी गर्न तयार रहेको बताए । पोखरा महानगरपालिकाले विद्युतीय सवारी सञ्चालन र व्यवस्थापनमा अपनत्व लिएर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । उनले सेवा प्रारम्भका लागि पोखरा यातायात प्रालि प्रति अभार प्रकट गरे ।
नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष दीनेश भण्डारीले उक्त क्षेत्रबाट यातायात सेवा सञ्चालनका लागि पोखरा यातायात प्रालिसंग निरन्तर रहकार्य गरिरहेको चर्चा गरे ।
पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले ४ वटा बसबाट सेवा सुरु गरेको स्मरण गर्दै अहिले समयको माग अनुरुप विद्युतीय सवारीसाधन वित्र्याएको बताए । विगतमा पनि आदर्श क्लवसंग सहकार्य गर्ने गरिएको चर्चा गर्दै उनले सुरु गरिएको इलेक्ट्रिक बस सञ्चालनसंगै थप सवारीसाधन थप्ने वातावरण बन्ने अपेक्षा प्रकट गरे । उनले लगानीको वातावरण नभएपनि समयको मागलाई बुझेर विद्युतीय सवारीसाधन भित्र्याएको बताए ।
विगत २३ वर्षदेखि पोखरा यातायात प्रालिमा आवद्ध भएर सेवा दिइरहेका यातायात व्यवसायी अशोक कुमार गुरुङले वायु प्रदुषण रोक्न महंगो भएपनि विद्युतीय वस भित्र्याएको जानकारी दिए । एक करोड ४७ लाखको लागतमा उक्त बस भित्र्याइएको पोखरा यातायात प्रालिले जानकारी दिएको छ ।
पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक देवी प्रसाद कुइँकेलका अनुसार प्रालिले यस अगाडि नै विभिन्न मोडेलका १५ सिट क्षेमतासम्मका ५ वटा विद्युतीय यातायातका साधन मार्फत यस अगाडिबाट नै सेवा आरम्भ गरिएको भएपनि मासरुपमा सेवा दिने बस यो पहिलो रहेको र आगामी दिनमा यसलाई विस्तार गर्दै लगिनेछ ।
बसको चावी हस्तान्तरण गर्दै सिपर्दी ट्रेडिङका गण्डकी लुम्बिनी ईन्चार्ज मोहदत्त भट्टराईले सेवा सुरु गरिएको बस नेपालको माटो र बाटो सुहाउँदो रहेको जानकारी दिए । उनका अनुसार बस एक पटक चार्ज गरेपछि ३०० किलोमिटर सेवा दिने कम्पनीले दाबी गरेपनि फुल लोडेडमा २२५ किलोमिटर आनन्दले गुड्ने प्रमाणित भएको बताए ।















