काठमाडौं ।
सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो ।बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।
आजको बैठकमा विशेषगरी कानुन संशोधनकै विषयमा केन्द्रीत भएर नेताहरूबीच छलफल भएको हो ।मन्त्रिपरिषद् हेरफेरबारे भने बैठकमा छलफल नभएको स्रोतले बताएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी थिए ।














