स्याङ्जा ।
स्याङ्जा जिल्लाको सबैभन्दा उर्बर भूमि चापाकोट क्षेत्रको सिँचाइ गर्न बनेको ‘चापाकोट टार सिँचाइ नहर’ पुनःनिर्माण गरिएको छ । ६० वर्ष अगाडि निर्माण शुरुभई ३४ वर्षदेखि संचालनमा रहेको नहर मार्फत चापाकोट नगरपालिका क्षेत्रका झण्डै १२ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गरिदै आएको छ ।
५ करोडको लागतमा नहरको पुनःनिर्माण र व्यवस्थापन गरिएको चापाकोट टार सिँचाइ योजना अध्यक्ष कृष्णप्रसाद सुवेदीले जानकारी दिए । समथर भू–भाग रहेको चापाकोट र सो क्षेत्रलाई खेतीयोग्य जमिनको सिँचाइ सुविधा पु¥याउँदै आएको जीर्ण नहरको मर्मतपछि कृषकहरु उत्साहित भएका छन् ।
चापाकोटका कृषक कमल पौडेलले नहरको मर्मतपछि आफूहरु खुसी र उत्साहित भएको बताए । ‘नहर जताततै चुहिने भएपछि पानी आउन छाडेको थियो मर्मतपछि त्यो समस्या हटेको छ ।’ पौडेलले भने, ‘नहर मर्मतपछि बाँझो जमिनमा सिँचाइ सुविधा पाएसँगै धान रोपाइँ सकियो ।’
नहरका ठाउँ ठाउँमा पहिरोले क्षति पु¥याएको थियो । नहरको माथिल्लो भागबाट ढुङ्गा र माटो झर्दा सिँचाइमा समस्या हुँदै आएको थियो । सघीय सरकारको ५ करोड अनुदानमा नहर मर्मत भएपछि चापाकोटका कृषकले सहज रुपमा सिँचाइ गर्न पाएका हुन् । नहर पहाडी भीरपहरा हुँदै निर्माण गरिएको हुँदा स्थानीय कृषकले हरेक वर्ष सिँचाइको समस्या भोग्दै आएका थिए ।
चापाकोट टार सिँचाइ नहर ज्याग्दीखोलामा बाँध बनाएर दार्सिङ्बाट सुरु गरी चापाकोटको समथर भू–भाग झण्डै २८ किलोमिटरको दूरीमा छ । २०२२ सालमा निर्माण सुरु भएको नहर २०४८ सालमा मात्रै पूर्ण रुपमा सञ्चलनमा आएको थियो । नहर निर्माणसँगै समथर भू–भाग रहेको चापाकोटको मुहार फेरिएको स्थानीय कृषक उत्तम आचार्यले बताए ।
नहर निर्माण हुनुअघि समथर भएपनि चापाकोट भूमिको उचित उपभोग हुन सकेको थिए । गएको वर्ष असारमा परेको अविरल वर्षाले नहरमा धेरै क्षति बनाएको थियो । गएको वर्ष राम्रोसँग धान रोप्न नपाएका कृषकले निर्वाध रुपमा धान रोपाइँ सकेको सिँचाइ योजना समितिले जनाएको छ ।
धान रोपाइँ र उत्पादनमा समस्या नदेखियोस भनेर समयमै नहर मर्मत गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाका प्रमुख किरण आचार्यले बताए । जिल्लाकै धेरै धानखेती हुने समथर भू–भागका कृषकलाई लक्षित गरेर समयमा नै धान रोप्न पाउने गरी पुनःनिर्माणको काम सकेको आचार्यले बताए ।














