सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल भेटिए

केन्द्रभाग मिडिया

पोखरा ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट चार दिनदेखि सम्पर्कविहीन भएका एकै परिवारका १५ जना सदस्य पोखरामा सकुशल भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँबाट फेला पारेको जानकारी दिएको छ ।

गत शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरुलाई खोज्ने क्रममा प्रहरीले मोबाइलको अन्तिम लोकेसन रामेछापको सिमन्दीछापमा पत्ता लगाएको थियो । परिवारका सदस्यले गत बिहीबार, ८ साउनमा घरमा सुँगुर काटेर खाएपछि सम्पर्कविहीन भएको बताइएको छ ।

उनीहरुको घर एकान्तमा रहेकाले र छिमेकीहरुले केही दिनसम्म उनीहरुलाई नदेखेपछि मात्रै घटना बाहिर आएको थियो । छिमेकीले उनीहरुले पालेको पाडी भोकले कराएपछि खोजबिन थालेका थिए, जसपश्चात घरमा कोही नभएको र उनीहरु सम्पर्कविहीन भएको थाहा भएको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार उनीहरुले बीस हजार रुपैयाँमा गाडी भाडामा लिएर पोखरा आएका थिए । शनिबार पोखरा आएर उनीहरू लेकसाइडस्थित होटल जननीमा तीनवटा कोठा लिएर बसेका थिए र आइतबार होटलबाट निस्किएका थिए ।

सोमबार सञ्चारमाध्यममा परिवार हराएको समाचार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनीहरुको खोजी गर्दा गगनगौंडाको सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा डेरा लिएर बसेको अवस्थामा फेला पारेको हो । उनीहरूले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताएका छन् ।

 

  • १३ श्रावण २०८२, मंगलवार ०६:४० प्रकाशित