अधिक भारवाहन गर्ने ट्रकमाथि कडाइ गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरी प्रधान कार्यालयले मालवाहक सवारी साधनमा अधिकतम भारभन्दा बढी सामान बोकेर सञ्चालनमा आएका ट्रक तथा अन्य सवारीमाथि कडाइ गर्न काठमाडौँ उपत्यका र प्रदेश प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले आइतबार जारी गरेको परिपत्रमा ‘मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित)’ पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको छ।

परिपत्रमा उल्लेख गरिएअनुसार अबदेखि अधिक भार बोकेका ट्रकहरूलाई जरिवाना गरेर मात्र छोड्ने होइन, तोकिएकोभन्दा बढी सामान त्यहीँ अनलोड गरी अर्को सवारीमा सार्न बाध्य पारिनेछ।

एक पटकभन्दा बढी ओभरलोड गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीलाई यातायात कार्यालयमा चलान गरी थप कारबाही प्रक्रिया अघि बढाउने पनि निर्देशनमा स्पष्ट उल्लेख छ।

नियम कार्यान्वयनको अवस्था नियमित रूपमा अनुगमन गर्न र उल्लङ्घन गर्ने प्रहरी कर्मचारीहरूलाई समेत कारबाही गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ।

  • १२ श्रावण २०८२, सोमबार १६:४२ प्रकाशित