काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक समस्याका कारण भएको बताएको छ ।
आइतबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको हो । प्राधिकरणले सामाजिक सञ्जालमा ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको भन्दै यस्ता गलत मनसायले फैलाइएको हल्लाकापछि नलाग्न आम उपभोक्तालाई आग्रह समेत गरिएको छ ।
प्राधिकरणका अनुसार चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३र११ केभी ९बसेनी० सबस्टेसनबाट न्यू भरतपुर जाने ३३ केभी लाइनमा अत्यधिक लोड बढेकाले समस्या सिर्जित भएको छ ।
वर्षा याममा पनि अपेक्षाअनुसार पानी नपर्दा आँधीखोलाको सिँचाइ लोड बढेकाले पनि विद्युत प्रणालीमा थप चाप परेको विज्ञप्तिमा उल्लेख छ । उक्त प्राविधिक समस्या व्यवस्थापनका लागि ट्रान्सफर्मर फेर्ने तथा लोड व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय विद्युत आपूर्ति अवरुद्ध हुने तालिका सार्वजनिक गरिएको जानकारी प्राधिकरणले दिएको छ ।
तर, उक्त तालिकालाई ‘लोडसेडिङ तालिका’ भन्दै प्रचार गर्नु अनुचित र भ्रामक रहेको प्राधिकरणद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।














