पोखरा ।
गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ ।
नेपाली कांग्रेसका अग्रज नेता एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा गुरूङको ७६ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत गुरुङको चितवनको भरतपुर महानगरपालिका(२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो ।
कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मेका गुरुङले चितवनलाई आफ्नो राजनीतिक कर्मथलो बनाएका थिए । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी वि।सं। २०२९ सालमा नेपाली कांग्रेसमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिएका हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले करिब ३ वर्ष जेल जीवनसमेत बिताएका थिए ।
गुरुङ नेपाली राजनीतिमा निष्ठा, त्याग र सादगीका पर्याय मानिन्थे । पद र शक्तिको लोभ नगरी जीवनभर लोकतन्त्र र पार्टी संगठनप्रति समर्पित रहनु उनको विशिष्ट पहिचान थियो ।
उनले लामो समय नेपाली कांग्रेस चितवनको सचिव र पछि दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी पार्टीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका भएका थिए ।
राजनीतिक जीवनको उत्तरार्धमा उनले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रमुख जस्तो गरिमामय संवैधानिक पदको जिम्मेवारी सम्हाले । प्रदेश प्रमुखको भूमिकामा रहँदा उनले आफ्नो निष्पक्ष र सन्तुलित छविलाई कायम राखेका थिए ।
प्रदेश प्रमुखको जिम्मेवारीबाट बाहिरिएलगत्तै उनलाई क्यान्सर रोग निदान भएको थियो । त्यसपछि भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन। पछिल्लो समय उनलाई दिव्यनगरस्थित निवासमै आरामका लागि राखिएको थियो ।
गुरूङको आइतबार बिहान चितवनकै देवघाटमा अन्त्येष्ठि गरिने भएको पारिवारिक स्राेतले जनाएकाे छ ।













